NIMB Long Banner Ad

पुटिनसँग ट्रम्पका दूतको तीन घण्टा वार्ता, शान्ति योजनामा छलफल

598
shares

किएभ। युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टाभन्दा लामो वार्ता गरेका छन्।

मस्कोमा शनिबार भएको वार्तामा युद्ध अन्त्य गर्ने सम्भावित उपाय र अमेरिकी पक्षले अघि सारेका विभिन्न प्रस्तावबारे छलफल भएको क्रेमलिनले जनाएको छ। वार्तालाई रचनात्मक र स्पष्ट भनिए पनि तत्काल कुनै ठोस सहमति भएको छैन।

पुटिनसँगको भेटपछि विटकफ र कुशनर आइतबार युक्रेनको राजधानी किएभ पुगेका छन्। उनीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युद्ध अन्त्यका उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

वार्ताका क्रममा रुसले पूर्वी युक्रेनमा आफ्नो सैन्य लक्ष्यबाट पछि नहट्ने संकेत दिएको छ भने युक्रेनले आफ्नो भू–भाग त्याग्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने अडान दोहोर्याउँदै आएको छ। यस्तो अवस्थामा अमेरिकी मध्यस्थतामा शान्ति प्रयास अघि बढे पनि तत्काल युद्धविरामको सम्भावना अझै स्पष्ट देखिएको छैन।