NIMB Long Banner Ad

भोटेकोशी बाढीको मुखबाट बाचेर फर्केका कामदार भन्छन् : त्यहाँ गएर फेरि काम गर्ने आँट छैन

1.26K
shares

जाजरकोट। रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट जाजरकोट शिवालय–८ का डिलबहादुर कठायत, मदन बुढा र प्रकाश बुढा संयोगले ज्यान जोगाउन सफल हुनुभएको छ।

उहाँहरू रसुवाको मैलुङ क्षेत्रमा सडक तथा विद्युत् संरचना मर्मतमा खटिनुभएको थियो। काम गरिरहेकै बेला एक्कासि हावाहुरीसहित ठूलो बाढी आएपछि ज्यान जोगाउन पहाडतर्फ भाग्नुपरेको उहाँहरूले बताउनुभयो।

बाढीपछि मोबाइल नेटवर्क बन्द हुँदा परिवारसँग सम्पर्क टुटेको थियो। रातभर जङ्गलको बाटो हिँडेपछि भोलिपल्ट उत्तरगया पुगेपछि मात्रै सम्पर्क स्थापित भयो। त्यतिबेला सामाजिक सञ्जालमा आफूहरू बाढीमा बेपत्ता भएको समाचार सार्वजनिक भएको थाहा पाएपछि उहाँहरूले सकुशल रहेको भिडियो पोस्ट गर्नुभएको थियो।

बाढीको घटना सम्झँदा अहिले पनि डर लाग्ने कठायत बताउनुहुन्छ। “त्यो ठाउँ सम्झिँदा अहिले पनि डर लाग्छ। त्यहाँ गएर फेरि काम गर्ने आँट छैन,” उहाँले भन्नुभयो।

केही समयपछि हेलिकोप्टर र गाडीमार्फत उद्धार गरी काठमाडौँ ल्याइएका उहाँहरू अहिले सुरक्षित हुनुहुन्छ। कठायतले बाढीको घटना सम्झँदा अझै डर लाग्ने बताउँदै त्यही क्षेत्रमा फर्किएर काम गर्ने अवस्था नरहेको बताउनुभयो।