टनेलमा फसेकाको उद्धार ब्रेक थ्रु नभएसम्म जारी राख्छौंः नेपाली सेना
वि.सं.२०८३ भदौ २२ सोमवार १८:१४
shares

काठमाडौँ। नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा फसेका हुनसक्ने नागरिकको खोज तथा उद्धार कार्य निरन्तर जारी राख्ने जनाएको छ।
सेनाका अनुसार प्रभावित आयोजनाका टनेलमा करिब १२१ जना फसेको हुनसक्ने अनुमान छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्न निर्देशन नदिएसम्म टनेलमा ब्रेक थ्रु नभएसम्म खोजी जारी रहने बताउनुभयो।
रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र नियन्त्रण कक्षसम्म पुगेर समेत खोजी गरिएको सेनाले जनाएको छ। सेनाले हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता छन्। उद्धारकार्यमा विदेशी उद्धारकर्मीसँग समेत सहकार्य भइरहेको उहाँले बताउनुभयो।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अधिकांश प्रभावित क्षेत्रमा राहत पुगिसकेको जानकारी दिँदै खोज, उद्धार र राहतका लागि सुरक्षा निकायलाई २४ घण्टा परिचालन गरिएको बताउनुभयो।
















