राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधनः विपत्तिमा एकजुट बनौँ, पुनर्निर्माणमा जुटौँ
अहिले राजनीतिक विवाद र दोषारोपण गर्ने समय हैन
वि.सं.२०८३ भदौ २२ सोमवार १८:३२
shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन परिस्थितिमा सम्पूर्ण नेपालीलाई संयमित हुँदै एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गर्नुभएको छ।
राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उहाँले भदौ १० गतेको बाढीलाई कहालीलाग्दो र अकल्पनीय घटना बताउँदै ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले बाढीपहिरोबाट सडक, पुल तथा जलविद्युत् आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको उपचार तथा बेपत्ताको खोजी र उद्धारलाई तीव्र बनाउन सरकारलाई आग्रह गर्नुभयो।
उहाँले उद्धार गरिएका नागरिकका लागि खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयको व्यवस्था गर्न जोड दिँदै उद्धारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकको प्रशंसा गर्नुभयो।
राष्ट्रपति पौडेलले विपत्तिका बेला सहयोग गर्ने छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्यायका लागि ठोस कदम चाल्न आग्रह गर्नुभयो।
उहाँले अहिले राजनीतिक विवाद र दोषारोपण गर्ने समय नभएको उल्लेख गर्दै “यो विभाजनको समय होइन, पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो” भन्नुभयो। साथै, भविष्यमा विपद्को जोखिम घटाउन नेपालको विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

















