उपत्यकामा एलपी ग्यासको अभाव झन् – झन् बढ्दै, डिपोमा उपभोक्ताको लामो लाइन
वि.सं.२०८३ भदौ २२ सोमवार १९:१६
shares

काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन् बढेको छ। साउनको पहिलो सातादेखि सहज रूपमा ग्यास नपाएका उपभोक्ता भोटेकोशी बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोपछि थप समस्यामा परेका छन्।
कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेट उपत्यका आउन नसकेपछि हेटौँडा, वीरगञ्ज, नवलपरासी र धनुषालगायत क्षेत्रबाट वैकल्पिक मार्ग हुँदै ग्यास ल्याउने गरिएको छ। ढुवानी खर्च बढेपछि ग्यास उद्योग सङ्घले प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न भनेको छ।
नेपाल आयल निगमका अनुसार उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर आवश्यक पर्ने भए पनि अहिले करिब ३० हजार सिलिन्डर मात्र भित्रिइरहेका छन्। ग्यासको अभाव भएपछि विभिन्न डिपोमा बिहानैदेखि सिलिन्डर बोकेर उपभोक्ताहरूको लामो लाइन लाग्न थालेको छ।
उपभोक्ता अधिकारवादी संस्थाहरूले भने बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आरोप लगाउँदै प्रभावकारी अनुगमन र नियमन गर्न सरकारसँग माग गरेका छन्।
















