NIMB Long Banner Ad

बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षामा समितिको चासो, हेल्प डेस्क राख्न निर्देशन

3.59K
shares

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा जोखिममा परेका समूहलाई लक्षित गरी राहत शिविर र होल्डिङ सेन्टरमा हेल्प डेस्क राख्न सरकारलाई निर्देशन दिइएको छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले विपद्को अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत वा सुरक्षित स्थानमा पुर्‍याउने नाममा पीडितलाई प्रलोभनमा पार्ने, दबाब दिने तथा झुटा आश्वासन दिने जोखिम रहेको भन्दै यस्तो निर्देशन दिएको हो ।

समितिको बैठकले हेल्प डेस्कमा सम्पर्क व्यक्ति तोक्न, पीडितका उजुरी गोप्य राख्न तथा आवश्यक कानुनी सहायता उपलब्ध गराउन भनेको छ । जोखिममा परेका व्यक्तिलाई आवश्यकताअनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा पठाउने संयन्त्र बनाउन पनि निर्देशन दिइएको छ ।

सभापति आकृति अवस्थीका अनुसार रसुवाको बेत्रावती, त्रिशूली करिडोर, तिमुरे, खट्टेखोला, स्याफ्रुबेँसी, हाँकुबेँसी र मैलुङलगायतका होल्डिङ सेन्टरमा सुरक्षा संवेदनशीलता बढी छ ।

समितिले स्थानीय तहका महिला सेललाई सक्रिय बनाउन तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका सवालमा अध्ययन र समन्वय गर्न दलीय आधारमा उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ ।