प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
वि.सं.२०८३ भदौ २६ शुक्रवार १९:१९
shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय सामान्य बहसलाई आगामी असोज ८ गते सम्बोधन गर्नुहुने भएको छ ।
अमेरिकाको न्युयोर्कमा असोज ६ देखि १२ गतेसम्म हुने महासभामा प्रधानमन्त्री शाहले नेपालको वर्तमान सरकारका प्राथमिकता, अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायका विषय उठाउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार महासभा नेपालमा भएको नवयुवा आन्दोलन, त्यसपछि चुनावमार्फत प्राप्त जनादेश र गठन भएको सरकारका प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर हुनेछ ।
जलवायु न्यायमा नेपालको जोड
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको प्रसङ्ग उठाउँदै नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण भोग्नुपरेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।
नगन्य कार्बन उत्सर्जन गरे पनि नेपालजस्ता देश जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै हानि तथा नोक्सानीसम्बन्धी कोषलगायतका माध्यमबाट उचित क्षतिपूर्ति र सहयोग उपलब्ध गराउन आह्वान गरिने मन्त्रालयले जनाएको छ ।
महासभामा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयक सहायक कार्यक्रम आयोजना गर्नेछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मन्त्रीस्तरीय बैठक तथा उच्चस्तरीय छलफलमा सहभागिता जनाउनुहुनेछ । उहाँले विभिन्न देशका समकक्षी र संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायत उच्च पदस्थ अधिकारी सहभागी हुनुहुनेछ ।
















