हिमाली विपद् सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
वि.सं.२०८३ भदौ २७ शनिवार १३:५७
shares

काठमाडौँ । हिमाली क्षेत्रमा देखिने वातावरणीय समस्या र प्राकृतिक विपद्को प्रभाव सीमाभन्दा बाहिरसमेत पर्ने भएकाले त्यसको सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताउनुभयो।
शनिबार काठमाडौँमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै मन्त्री खनालले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिनुभयो।
उनले हिमालयको पारिस्थितिक प्रणाली राजनीतिक सीमाभन्दा परस्पर जोडिएको उल्लेख गर्दै साझा जोखिम व्यवस्थापन, समन्वित पूर्वतयारी र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै खनालले दुई देशबीचको सम्बन्ध भूगोलमा मात्र सीमित नभएको बताउनुभयो । सीमापार समुदाय, व्यापार, संस्कृति र जनस्तरको आदानप्रदानबाट कायम सम्बन्धलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्याउँदै आफ्नो भूमि चीनको वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने उहाँले स्पष्ट पार्नुभयो। सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार, प्रविधि र ज्ञान आदानप्रदानमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री खनालले नेपाल–चीन सीमा व्यवस्थापनमा वातावरणीय पक्षलाई प्राथमिकता दिँदै ‘इकोलोजिकल बोर्डर म्यानेजमेन्ट’को अवधारणा अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो ।
















