NIMB Long Banner Ad

आजदेखि सुरु हुँदै चारदिने तीज, आज दर खाने दिन

1.29K
shares

काठमाडौ। हरितालिका (तीज) पर्वको पहिलो दिन आइतबार नेपाली महिलाले दर खाँदैछन् । माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परासँगै चारदिने तीजपर्व सुरु हुँदैछ ।

भाद्र शुक्ल द्वितीयाका दिन खाइने दरलाई तीजको व्रतका लागि शक्ति सञ्चय गर्ने तयारीका रूपमा लिइन्छ । व्रत बस्ने महिलाले दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिला खानेकुरा खाने गर्छन् । धर्मशास्त्रविद् प्रा। तोयराज नेपालका अनुसार शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात हुँदै खाइसक्नुपर्छ ।

तीज धार्मिक व्रत र पारिवारिक जमघटमा मात्र सीमित छैन । महिलाले वर्षभरि भोगेका दुःख, पीर र मर्का गीत तथा नृत्यमार्फत अभिव्यक्त गर्ने पर्वका रूपमा पनि यसको महत्व छ । जन्मघरबाट कर्मघर पुगेपछि भोगेका अनुभव र सामाजिक विषयवस्तु तीजका गीतमा समेटिँदै आएका छन् ।

दर खाने दिन विशेषगरी माइती, दाजुभाइ तथा आफन्तले छोरी, चेली र दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन् । यसले पारिवारिक भेटघाट र आत्मीयता बढाउने अवसरसमेत प्रदान गर्छ ।

विगतमा नेपालमा मात्र मनाइने तीज पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारसँगै भारतमा समेत मनाउन थालिएको छ । भारतीय टेलिभिजन च्यानलमा तीजका गीत तथा कार्यक्रमसमेत प्राथमिकताका साथ देखाउन थालिएका छन् ।