सिरहा घटनाबारे शिक्षामन्त्री पोखरेल- नियोजित भ्रम फैलाइयो, शिक्षा सुधारको उद्देश्य रोकिदैन
वि.सं.२०८३ भदौ २८ आइतवार ०८:००
shares

सिराहा। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि औरही गाउँपालिकामा आयोजित सुझाव संकलन कार्यक्रममा वक्तालाई समय नदिएको विषयमा विवाद भएको छ । विवादपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल मन्तव्य पूरा नगरी कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो ।
शनिबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेशकुमार महतोले बोल्ने समय नपाएपछि प्रश्न उठाउनुभएको थियो । त्यसपछि होहल्ला भएको र मन्त्रीले छोटो सम्बोधन गरेर सुरक्षाकर्मीको सहयोगमा बाहिरिनुभएको रास्वपाका सांसद शिव यादवले बताउनुभएको छ ।
सभापति महतोले मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका प्रभावित भएको टिप्पणी गर्नुभएको छ । यता मन्त्री पोखरेलले भने घटनालाई तोडमोड गरेर भ्रामक प्रचार गरिएको दाबी गर्नुभएको छ ।
मन्त्रालयका अनुसार विद्यालय शिक्षालाई व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सुझाव संकलन भइरहेको छ । पहिलो चरणमा सातै प्रदेशका २८ जिल्लामा भइरहेको अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ ।
















