जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यका लागि आह्वान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
वि.सं.२०८३ भदौ ३० मंगलवार १४:२४
shares

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताउनुभएको छ।
मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाउनुभएको शुभकामना सन्देशमा उहाँले जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालले भोगिरहेका जलवायुजन्य समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जलवायु परिवर्तनले हिमाली, पहाडी र तराई क्षेत्रमा गम्भीर असर पारेको भन्दै उहाँले हिमाल पग्लिने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्ने र मौसममा अप्रत्याशित परिवर्तन आउने समस्या बढिरहेको बताउनुभएको छ।
घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुई दिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको हो। सम्मेलनमा देशभरका गाउँपालिका प्रमुख, नगरपालिकाका मेयर तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ।
















