अस्ट्रेलियाका स्टार डेभिड वार्नर काठमाडौं गोर्खाजबाट एनपिएल खेल्दै
वि.सं.२०८३ भदौ ३० मंगलवार १४:५१
shares

काठमाडौं । अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन खेल्ने भएका छन्। उनी दशैंपछि नेपाल आउने छन्।
एनपिएल खेल्न आउने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै ठूला नाम हुन्। अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए। २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ बनेका थिए।
वार्नरले अस्ट्रेलियाबाट ११२ टेस्ट, १६१ एकदिवसीय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार रन बनाएका छन्। सबै खाले टी–२० मा उनले ४३९ खेलबाट १४ हजारभन्दा बढी रन बनाएका छन्।
आईपिएलमा सनराइजर्स हैदराबादलाई २०१६ मा च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका वार्नर २०१५, २०१७ र २०१९ मा प्रतियोगिताका सर्वाधिक रनकर्ता बनेका थिए।
काठमाडौं गोर्खाजले यसअघि श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई अनुबन्ध गरिसकेको छ।















