अमेरिकी राजदूतसँग प्रधानमन्त्री शाहको भेट, विपद् सहयोगप्रति आभार
वि.सं.२०८३ भदौ ३१ बुधवार १४:४३
shares

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनसँग भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
भेटमा उहाँले बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनको असरस्वरूप यस्तो विपद् सामना गर्नुपरेको बताउनुभयो । जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री शाहले नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे चर्चा गर्दै अमेरिकी लगानीलाई स्वागत गर्ने बताउनुभयो ।
कार्यवाहक राजदूत बोल्डिनले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले राहत, पुनःस्थापना र पुनर्निर्माणमा नेपाल सरकार तथा नेपाली जनतासँग सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो ।
















