तीन दिनपछि घट्यो नेप्से, कारोबार रकम पनि ओरालो
वि.सं.२०८३ भदौ ३१ बुधवार १५:४३
shares

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से तीन कारोबार दिनपछि घटेको छ । नेप्से आज २१.१९ अङ्कले घटेर २ हजार ६१२.४२ विन्दुमा झरेको हो ।
पूँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना घोषणा भएपछि हिजो बढेको बजार आज घटेको हो । आज सबै समूहका उपसूचक घटेका छन् । जलविद्युत् र जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन् ।
आज २२५ वटा कम्पनीको शेयर घट्दा ४२ वटाको बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन । एनएमबी हाइब्रिड फन्ड एल–१ को शेयर सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ । बजार घटेको दिन नारायणी विकास बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएका छन् ।
















