चार प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना
वि.सं.२०८३ असोज १ बिहीवार १०:३८
429
shares
shares

काठमाण्डौ । आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली केही ठाउँ तथा कर्णालीका हिमाली थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । अन्य पहाडी क्षेत्रमा पनि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
सुदूरपश्चिमको तराई, मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
















