NIMB Long Banner Ad

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्धः प्रधानमन्त्री शाह

975
shares

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आयोजित मूल समारोहमा सम्बोधन गर्दै उहाँले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संविधानले गरेका वाचा व्यवहारमा पूरा गर्न इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकलाई सहज सेवा आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय चाहेको उल्लेख गर्दै सरकारका हरेक कदम त्यसैतर्फ केन्द्रित रहेको बताउनुभयो । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनिक सुधार, राजनीतिक तटस्थता र योग्यतामा आधारित नियुक्तिलाई सरकारले प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा विकासको साझा उद्देश्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा र नवप्रवर्तनलाई अघि बढाउँदै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विपद् आउनुअघि नै जोखिम न्यूनीकरण र पूर्वतयारी गर्ने नीति अवलम्बन गरिने तथा पूर्वसूचना प्रणालीलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले राजनीतिक परिवर्तन, सुशासनका लागि भएका आन्दोलन तथा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।