NIMB Long Banner Ad

नौ वर्षपछि २४२ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

117
shares

गौशाला। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले नापजाँच भएको नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।

साविक रमदैयाँ भवाडी गाउँपालिकाका वडा नं. १, ५ र ९ मा स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गा नापजाँच २०७४ सालमै सम्पन्न भएको थियो। कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा उनीहरू लामो समयदेखि पुर्जाविहीन थिए।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले उनीहरूलाई पुर्जा वितरण गर्नुभयो।

पुर्जा पाएसँगै जग्गाको कानुनी स्वामित्व स्थापित हुनुका साथै जग्गा कारोबार, बैंकबाट ऋण लिन तथा भूमिसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन सहज हुने नापी कार्यालय धनुषाले जनाएको छ।

कार्यालयका अनुसार धनुषामा हालसम्म विभिन्न स्थानका ४ हजार ३५४ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण भइसकेको छ।