NIMB Long Banner Ad

चुच्चेपाटीमा लायन्सको किड्नी डायलाइसिस सेन्टर सञ्चालनमा

काठमाडौंको चुच्चेपाटीमा लायन्सको किड्नी डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ ।लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी, एमडी ३२५ नेपालको सहकार्यमा स्थापना गरिएको डायलाइसिस सेन्टरको औपचारिक उद्घाटन तथा हस्तान्तरण पाटन संयुक्त क्याम्पस, ग्रामीण विकास विभागका प्राध्यापक एवं समाजसेवी श्री रमेशकुमार लामाको नेतृत्वमा भएको हो ।

3.68K
shares

असोज ४,काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालमा ‘लायन्स स्तूपा किड्नी डायलाइसिस सेन्टर’ सञ्चालनमा आएको छ। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी, एमडी ३२५ नेपालको सहकार्यमा स्थापना गरिएको डायलाइसिस सेन्टरको शनिबार औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको हो।
लायन्स क्लब अफ काठमाडौँ राइजिङ सन र लायन्स क्लब अफ काठमाडौँ इन्फिनिटीको आयोजनामा भएको कार्यक्रममा लायन्स इन्टरनेसनलका तत्कालीन अन्तर्राष्ट्रिय अध्यक्ष तथा एलसीआईएफ चेयरपर्सन ए.पी. सिंहको प्रमुख आतिथ्यता तथा पीएमसीसी तथा ग्रान्ट एडमिनिस्ट्रेटर लायन रमेश कुमार लामा पीएमजेएफको अध्यक्षता रहेको थियो।

कार्यक्रममा तत्कालीन अन्तर्राष्ट्रिय अध्यक्ष तथा एलसीआईएफ चेयरपर्सन ए.पी. सिंहले लायन्स स्तूपा किड्नी डायलाइसिस सेन्टरको उद्घाटन गर्दै स्तूपा सामुदायिक अस्पतालका डाइरेक्टर पेम्बा लामा तथा महासचिव हरिकृष्ण श्रेष्ठलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।

डायलाइसिस सेन्टर स्थापना गर्न लायन्स इन्टरनेसनल तथा सम्बन्धित लायन्स क्लबको तर्फबाट ७ वटा डायलाइसिस मेसिन, ६ वटा बिरामी बेड,आरओ सिस्टम मेसिनलगायत १ करोड ८० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको पीएमसीसी तथा ग्रान्ट एडमिनिस्ट्रेटर लायन रमेश कुमार लामाले जानकारी दिनुभयो।

लामाका अनुसार डायलाइसिस सेन्टरबाट मिर्गौला सम्बन्धी उपचार तथा डायलाइसिस सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने उद्देश्य राखिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीका लागि यसले राहत पुग्ने अपेक्षा गरिएको छ।

डायलाइसिस सेन्टर LCIF को ७५% र स्थानीय कोष २५% लगानीमा स्थापना गरिएको हो । सेन्टरबाट किड्नी डायलाइसिस सेवा निःशुल्क संचालन हुनेछ ।

कार्यक्रममा लायन्स इन्टरनेसनलका पार्टनर इन सर्भिस तथा पीआईडी संगीता जटिया, इन्टरनेसनल डाइरेक्टर लायन नजमुल हक, स्तूपा सामुदायिक अस्पतालका प्रतिनिधि, डिस्ट्रिक्ट गभर्नर लायन योगराज कँडेल शर्मा पीएमजेएफ लगायत लायन्स क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

समारोहका क्रममा डिस्ट्रिक्ट ३२५ डी र स्तूपा सामुदायिक अस्पतालबीच समझदारीपत्र (एमओयू) समेत हस्ताक्षर गरिएको छ। एमओयूअनुसार डायलाइसिस सेन्टरको संरक्षण तथा कार्य सञ्चालनको जिम्मेवारी स्तूपा सामुदायिक अस्पतालले लिनेछ।
अस्पतालले डायलाइसिस सेन्टरमार्फत सेवाग्राहीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने जनाइएको छ। लायन्सको सहयोगमा स्थापना गरिएको सेन्टरको दीर्घकालीन सञ्चालन, व्यवस्थापन तथा सेवा प्रवाह अस्पतालमार्फत अघि बढाइनेछ।

कार्यक्रममा विश्व शान्तिको कामनासहित एक मिनेट मौन प्रार्थना, राष्ट्रिय धुन तथा झण्डा सलामीसहित औपचारिक कार्यक्रम अघि बढाइएको थियो। त्यसपछि लायन्स पदाधिकारी तथा अस्पतालका प्रतिनिधिहरूले डायलाइसिस सेवाको आवश्यकता, स्वास्थ्य क्षेत्रमा सामाजिक संस्थाको भूमिका तथा सेवा विस्तारका विषयमा धारणा राखेका थिए।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी, एमडी ३२५ नेपाल, लायन्स क्लब अफ काठमाडौँ राइजिङ सन र लायन्स क्लब अफ काठमाडौँ इन्फिनिटीको सहकार्यमा स्थापना भएको यो सेन्टरले मिर्गौला रोगबाट प्रभावित बिरामीलाई डायलाइसिस तथा मिर्गौला सम्बन्धी स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने लक्ष्य राखेको छ।

यसबाट नियमित डायलाइसिसका लागि ठूलो आर्थिक भार व्यहोर्नुपर्ने बिरामीलाई प्रत्यक्ष राहत पुग्ने तथा मिर्गौला उपचारमा पहुँच विस्तार गर्न सहयोग पुग्ने आयोजकले जनाएकाे छ ।