NIMB Long Banner Ad

कोरला नाकाबाट दुई महिनामा ३ अर्बभन्दा बढी राजस्व

195
shares

मुक्तिनाथ। उपल्लो मुस्ताङको कोरला नाकाबाट दुई महिनामा ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा २६ करोड ३९ लाख रुपैयाँ राजस्व उठेकोमा भदौमा मात्रै २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ संकलन भएको हो।

रसुवागढी भन्सार कार्यालय बाढीका कारण प्रभावित भएपछि कोरला नाकाबाट आयात बढेको भन्सार कार्यालयले जनाएको छ। चीनबाट विद्युतीय सवारीसाधन (ईभी) को आयातसमेत उल्लेख्य बढेको छ। साउनमा १०० वटा ईभी आयात भएकोमा भदौमा १ हजार २२३ वटा भित्रिएका छन्।

ईभीबाट मात्रै दुई महिनामा २ अर्ब ११ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख बिदुर चुडालले बताउनुभयो। त्यस्तै, साउनमा ५७ वटा रहेको मालवाहक कन्टेनरको संख्या भदौमा बढेर ६९७ वटा पुगेको छ।

उत्तरी नाकामा बढेको चापसँगै कोरला क्षेत्रमा व्यवसायी, चालक तथा मजदुरको चहलपहल पनि बढेको छ।