NIMB Long Banner Ad

काठमाडौँका विभिन्न क्षेत्रमा राति विद्युत् अवरुद्ध हुने

442
shares

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनको प्राविधिक स्तरोन्नति तथा वितरण लाइन सुदृढीकरणका क्रममा काठमाडौँका विभिन्न क्षेत्रमा राति विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार असोज ४ गतेदेखि विभिन्न फिडरमा बढीमा दुई दिन राति तीन घण्टासम्म विद्युत् आपूर्ति रोकेर मर्मत गरिनेछ। मर्मतका लागि राति ११ देखि बिहान २ बजेसम्म वा बिहान २ देखि ५ बजेसम्म विद्युत् काटिनेछ।

टेकु सबस्टेसनको ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गर्नुका साथै सबस्टेसन अटोमेसन प्रणाली जडान तथा परीक्षणको काम गरिने प्राधिकरणले जनाएको छ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत सुन्धारा, थापाथली, मिन्ट, कालीमाटी, भीमसेनस्थान, क्षेत्रपाटी र त्रिपुरेश्वर फिडर प्रभावित हुनेछन्। त्यस्तै पुल्चोक वितरण केन्द्रअन्तर्गत पुल्चोक, बागमती, भैँसेपाटी र रिङरोड फिडर तथा कुलेश्वर वितरण केन्द्रअन्तर्गत ताहाचल, चमती, कुलेश्वर र कीर्तिपुर फिडरमा पनि निर्धारित समयमा विद्युत् अवरुद्ध हुनेछ।

आयोजना प्रमुख नीतीश पौडेलका अनुसार विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र आधुनिक बनाउन मर्मत आवश्यक भएकाले आपूर्ति रोक्नुपरेको हो।