NIMB Long Banner Ad

असोज ९ देखि तीन दिन ठूलो वर्षाको सम्भावना, तीन दिन यात्रा नगर्न अनुरोध

442
shares

काठमाण्डौ । असोज ९ गते शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका केही तथा मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मुसलधारे वर्षा हुन सक्नेछ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै रहेकाले यसको प्रभाव बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकीमा देखिने अनुमान छ।

भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा तराई र शहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि तीन दिन सकेसम्म यात्रा नगर्न अनुरोध गरेको छ।

यस्तै, कृषि अनुसन्धान केन्द्रले पाक्न लागेको धानलाई पानी र बाढीबाट जोगाउन खेतमा पानी निकासको व्यवस्था गर्न तथा मौसम सफा भएपछि मात्रै धान काट्न आग्रह गरेको छ।