शुक्रबारदेखि देशभर भारी वर्षाको सम्भावना, कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्न शुरु
वि.सं.२०८३ असोज ७ बुधवार ०९:४५
shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षा हुनसक्नेछ भने मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकीमा आजदेखि नै वर्षाको गतिविधि सुरु भएको छ । काठमाडौँ उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा हल्का वर्षा भइरहेको मौसमविद् डेभिड ढकालले बताउनुभयो ।
मनसुनी वायुको प्रभाव कायमै रहेको र बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेकाले वर्षाको गतिविधि क्रमशः बढ्दै जाने महाशाखाले जनाएको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार कोशी र बागमतीमा आज बेलुकादेखि, मधेशमा भोलिदेखि तथा गण्डकी र लुम्बिनीमा पर्सिदेखि वर्षाको गतिविधि बढ्नेछ । कर्णाली र सुदूरपश्चिममा पनि शुक्रबारदेखि वर्षा हुने देखिएको छ ।
हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ । साथै, सम्भावित बाढी, पहिरो र डुबान जोखिम भएका क्षेत्रमा पूर्वसूचना प्रणाली सक्रिय राख्न तथा उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
















