ग्लोबल साउथ नियम पालना गर्ने होइन, नियम बनाउने भूमिकामा आउनुपर्छ – परराष्ट्रमन्त्री खनाल
वि.सं.२०८३ असोज ७ बुधवार १०:४८
shares

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरले आयोजना गर्नुभएको ग्लोबल साउथका समान विचारधारा भएका मुलुक तथा मित्र राष्ट्रहरूको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विकासशील मुलुकहरूको सामूहिक आवाजलाई विश्वव्यापी शासन प्रणालीमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको संरचनामा सुधार आवश्यक रहेको बताउँदै ती संरचनाले आजको विश्वको वास्तविकता प्रतिबिम्बित गर्नुपर्ने धारणा राख्नुभयो ।
विकासशील मुलुकले असमान ऋणको भारसँगै दिगो विकासका लागि वित्तीय स्रोत जुटाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री खनालले न्यायपूर्ण वित्तीय पहुँच र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षणमा जोड दिनुभयो ।
नेपालले समूह–७७ तथा चीन र असंलग्न आन्दोलनमार्फत विकासशील मुलुकको ऐक्यबद्धतालाई निरन्तर समर्थन गर्दै आएको उल्लेख गर्दै उहाँले बहुपक्षीयतालाई पुनर्जीवित गर्न संवाद, प्रविधि साझेदारी र दक्षिण–दक्षिण सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“ग्लोबल साउथलाई सशक्त बनाउनु भनेको बहुपक्षीयतालाई नै पुनर्जीवित गर्नु हो,” उहाँले भन्नुभयो ।
















