आजदेखि धेरै ठाउँमा ठूलो वर्षा हुने, सतर्कता अपनाउन आग्रह
वि.सं.२०८३ असोज ८ बिहीवार ०७:५८
299
shares
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । पाल्पा र कपिलवस्तुमा तुलनात्मक रूपमा धेरै पानी परेको छ ।
लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा र पाल्पाका खोलानालामा जलसतह बढे पनि अवस्था सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षा अझै बढ्नेछ । कोशी, बागमती र गण्डकीका थोरै तथा मधेश र लुम्बिनीका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । केही स्थानमा आरीघोप्टे वर्षा र मधेश–कोशीका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबारसम्म धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
















