हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
वि.सं.२०८३ असोज ९ शुक्रवार ०८:५८
shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्ताव गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले एक महिनाअघि नेपालको हिमाली क्षेत्रमा आएको बाढी नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनी भएको बताउनुभयो।
प्रस्तावित संयन्त्रमार्फत जोखिमयुक्त हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली सुदृढीकरण, स्याटेलाइट तथ्याङ्क तथा विशेषज्ञता आदानप्रदान र विपद्का बेला सीमापार सहायता समन्वय गर्ने प्रस्ताव उहाँले राख्नुभयो।
हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, कृषि, पारिस्थितिक प्रणाली र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमालयलाई अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले जलविद्युत् विकास, विद्युतीय सवारीको प्रयोग र जलवायु अनुकूलनका कार्यक्रममार्फत नेपालले जलवायु परिवर्तनसँग जुध्ने प्रयास गरिरहेको बताउनुभयो।
















