अर्याल र पोखरेलसहित ४ पत्रकार सम्मानित
वि.सं.२०८३ असोज ९ शुक्रवार १७:४४
shares

असोज ९ काठमाडौं । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारलाई प्रदान गरिएको छ ।
नेपाल टेलिभिजनमा आयोजित एक समारोहमा सुचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गर्नु भएको हो । गत वर्ष भाद्र २३ मा भएको जेनजी बन्दोलनका क्रममा जोखिम मोलेर प्रत्यक्ष रिपोर्टिङ गर्नु भएका हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित कान्तिपुरका श्याम श्रेष्ठसमेत सम्मानित हुनु भएको हो ।
कार्यक्रममा पर्यावरण संरक्षणका क्षेत्रमा जोखिमपुर्ण रिपोर्टिङ गर्नु भएका नेपाल टेलिभिजनका संवाददाता अंजिरसिंह विक र शिव शिलवाल पनि सम्मानित हुनु भएको छ ।
कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमपूर्ण रिपोर्टिङले सत्य तथ्य समाचार उजागर गर्ने भएपनि पत्रकारले आफ्नो सुरक्षाको ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्यालले पत्रकारिता क्षेत्र आफैमा जोखिमपूर्ण रहेको बताउँदै जनताको हकाधिकार स्थापित गराउनका लागि सधैं जोखिम मोल्न तयार रहेको बताउनु भयो ।
वि.सं. २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परेका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित यो पुरस्कारको राशी एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।
















