कृष्णभीरमा फेरि भासियो सडक, राजमार्गका दर्जनौँ ठाउँमा पहिरो
वि.सं.२०८३ असोज १० शनिवार ०८:२५
shares

नारायणगढ, असोज ९ गते । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा शुक्रबार बिहान फेरि सडक भासिएको छ । गत भदौ १४ गते सडक भासिएपछि असोज १ गते डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो ।
पृथ्वी राजमार्ग मुग्लिन–नौबिसे आयोजना पश्चिम खण्डका इन्जिनियर धीरन ढकालका अनुसार डाइभर्सनसँगैको ग्याबिन वाल भासिएर त्रिशूली नदीतर्फ खसेपछि करिब २५ मिटर सडक प्रभावित भएको हो । सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि जोखिम कायमै रहेको उहाँले बताउनुभयो ।
त्रिशूली नदीको कटान र वर्षाका कारण कृष्णभीरमा सडक भासिने तथा पहिरो जाने क्रम नरोकिएको आयोजनाले जनाएको छ । सडक स्थिरीकरण, मजबुतीकरण, नाली निर्माण र कालोपत्रेसहितका काम भइरहेका बेला पुनः सडक भासिएको हो ।
कृष्णभीरसँगै धारापानीमा करिब २० मिटर सडक भासिएको छ भने पृथ्वी राजमार्गको मुग्लिन, ज्यामिरेघाट, परेवा भिर, शीतलबजारलगायत स्थानमा पहिरो गएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पनि ८० भन्दा बढी स्थानमा पहिरो गएको छ । ३१ किलोमा सडक भासिएको छ भने कालिखोला, सिमलताल, तुइन खोला, नाम्सी खोला, चार किलो र मौरी खोलालगायत क्षेत्रमा पहिरो जाने क्रम जारी छ ।

















