संवैधानिक अधिकार प्रयोगमा प्रहरीले अवरोध गरेको भन्दै मानव अधिकारको आपत्ति
वि.सं.२०८३ असोज ११ आइतवार १९:००
468
shares
shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो संवैधानिक तथा कानुनी अधिकार प्रयोगमा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको घटनाबारे अनुगमन गर्न आयोगको टोली आइतबार प्रहरी परिसर टेकु पुगेको थियो। तर, प्रहरीले टोलीलाई जबरासँग भेट गर्न अनुमति नदिएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रहरीको उच्च नेतृत्वसँग भेटका लागि अनुमति माग्दा पनि टोलीलाई जबरासँग भेट्न दिइएन। साथै, भेट गर्न रोक्नुको कारणसमेत प्रहरीले जानकारी नगराएको आयोगको भनाइ छ।
आफ्नो संवैधानिक तथा कानुनी दायित्व निर्वाहमा अवरोध सिर्जना भएको भन्दै आयोगले घटनाप्रति खेद व्यक्त गरेको छ। आयोगले आफ्नो काममा अवरोध गर्ने प्रहरी कर्मचारीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
















