बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, दर्जनौँ सडक अवरुद्ध
वि.सं.२०८३ असोज ११ आइतवार १९:११
shares

काठमाडौँ, असोज ११ गते। मनसुन सुरु भएयता बाढीपहिरोमा परी देशभर १२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पाल्पा, सिराहा, सुर्खेत, रोल्पा, बागलुङ, रुकुम पश्चिम, काभ्रेपलाञ्चोक र मकवानपुरमा मानवीय क्षति भएको छ। पाल्पामा असोज ९ गते एक महिला बेपत्ता भएकी छन्।
लगातारको वर्षासँगै आएको बाढी, पहिरो र रुख ढल्दा देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। बागमती प्रदेशमा पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, टिडरासखानी र चितवनको धारापानीमा सडक अवरुद्ध छ। कान्ति लोकपथ, बीपी राजमार्ग तथा रसुवागढी–त्रिशूली–मैलुङ सडकखण्डमा पनि यातायात प्रभावित भएको छ।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ र बागलुङका विभिन्न सडक पहिरोका कारण बन्द छन्। यस्तै, लुम्बिनीको कालीगण्डकी करिडोर तथा कर्णालीको कर्णाली राजमार्ग, राप्ती राजमार्ग र भेरी करिडोरका विभिन्न खण्डमा यातायात ठप्प भएको प्राधिकरणले जनाएको छ।
















