राजमार्गका विभिन्न ठाउँमा पहिरो, राति यातायात बन्द
खुलाउने प्रयास जारी
वि.सं.२०८३ असोज १२ सोमवार ०८:०८
shares

नारायणगढ, असोज १२ गते । अविरल वर्षापछि पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन र नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने र सडक भासिने समस्या देखिएको छ।
जोखिम कायमै रहेकाले सोमबार राति दुवै सडकखण्डमा सवारी सञ्चालन नगरिने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो।
नारायणगढ–मुग्लिन सडकको घोप्टेभीरमा पहिरो खसेपछि दुईतर्फी यातायात अवरुद्ध भएको छ। सिमलतालमा सडक भासिएको छ भने तुईनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा सामान्य ढुङ्गा तथा माटो खसेको छ।
पृथ्वी राजमार्गको कृष्णभीर, शीतलबजार, गोमती खोला, चौकीभीरलगायतका स्थानमा पनि पहिरो खसेको छ। कृष्णभीरमा सडकको तल्लो भाग भासिने जोखिम कायमै रहेको छ।
फिस्लिङमा करिब ३० मिटर सडक चर्किएर दबिएको छ। हुग्दीखोलादेखि जवाङखोलासम्म विभिन्न स्थानमा पहिरो खसेको छ।
अधिकांश स्थानमा पहिरो हटाइसकिएको भए पनि वर्षा पूर्ण रूपमा नरोकिएकाले जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्। पहिरो हटाउन विभिन्न स्थानमा मेसिन तथा उपकरण परिचालन गरिएको छ।

















