काठमाडौंको वसन्तपुरमा ‘सामूहिक दीप प्रज्वलन’ हुँदै
जलवायु न्याय र क्षतिपूर्तिको माग राख्दै नागरिक समाज र विभिन्न संस्थाद्वारा वसन्तपुरमा ऐक्यबद्धता कार्यक्रमको घोषणा
वि.सं.२०८३ असोज १४ बुधवार १३:३२
shares
press meet
असोज १४ काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउन र जलवायु न्यायका लागि आवाज उठाउन काठमाडौँको वसन्तपुरमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
एक्शनएड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र युथ एड्भोकेसी नेपाल लगायत नागरिक समाज संस्थाहरूको संयुक्त आयोजनामा ‘न्याय, वित्त र जवाफदेहिताका लागि जलवायु न्याय ऐक्यबद्धता तथा सामूहिक दियो प्रज्वलन’ कार्यक्रम हुन लागेको हो।
आयोजकका अनुसार कार्यक्रम आगामी १६ असोज २०८३ (२ अक्टोबर २०२६) शुक्रबारका दिन अपराह्न ३:०० बजेदेखि साँझ ६:१५ बजेसम्म काठमाडौँ दरबार स्क्वायर (वसन्तपुर) मा सञ्चालन हुनेछ।
कार्यक्रम आयोजना गर्नुको उद्देश्य
विनाशकारी भोटेकोशी बाढीको एक महिना पूरा भएको सन्दर्भमा आयोजित यस शान्तिपूर्ण सार्वजनिक जमघटले जलवायुजन्य विपद्बाट प्रभावित जीवन र जीविकोपार्जनप्रति सम्मान प्रकट गर्दै प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा छोटी र्याली, कविता वाचन, प्रभावित समुदायको आवाजको साझा प्रस्तुति र सामूहिक दियो प्रज्वलन जस्ता गतिविधिहरू समावेश गरिनेछन्।
अभियानका तीन प्रमुख मागहरू:
१. अग्रपङ्क्तिका समुदायका लागि न्याय: प्रभावित समुदायको पुनःस्थापना र अधिकारको सुनिश्चितता। २. जलवायु न्याय तथा हानि र नोक्सानीका लागि वित्तीय व्यवस्था: अनुकूलन तथा क्षतिपूर्तिका लागि पर्याप्त, पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्तको प्रबन्ध। ३. प्रदूषकले भुक्तानी गर्नुपर्ने र जवाफदेही हुनुपर्ने: ठूलो मात्रामा उत्सर्जन गर्ने धनी देश तथा निकायहरूले उत्सर्जन कटौती गर्ने र तिनीहरूले निम्त्याएको हानिका लागि निष्पक्ष योगदानसहितको जवाफदेहिता वहन गर्नुपर्ने।
सहभागीहरूलाई विशेष आग्रह
कार्यक्रम पूर्ण रूपमा समावेशी, गैरराजनीतिक र प्लास्टिकमुक्त हुनेछ। आयोजकले सहभागीहरूलाई हरियो वा सेतो पोशाक लगाएर आउन तथा दियो वा मैनबत्ती साथमा लिएर आउन अनुरोध गरेका छन्। साथै, कार्यक्रम अवधिभर मौनता र गरिमा कायम राख्न, आवागमनका बाटाहरू खुला राख्न र कुनै पनि राजनीतिक दलको प्रतीक नल्याउन आग्रह गरिएको छ।
यस कार्यक्रममा नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, प्राज्ञिक क्षेत्र र प्रभावित समुदायका सदस्यहरूको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको छ।
















