असोज १७ देखि तीन दिन भीषण वर्षा हुने सूचना भ्रामक
वि.सं.२०८३ असोज १४ बुधवार १४:१८
shares

काठमाडौँ, असोज १४ गते । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् सुदर्शन हुमागाईका अनुसार अहिले देशमा भीषण वर्षा गराउने कुनै मौसमी प्रणाली छैन। आगामी दिनमा कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अपराह्न तथा साँझतिर हल्का र कतै–कतै मध्यम वर्षा हुनसक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो।
काठमाडौँ उपत्यकामा पनि केही स्थानमा क्षणिक हल्का वर्षा हुनसक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ।
विभागले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलागी आधिकारिक मौसम सूचना मात्र हेर्न आग्रह गरेको छ। विभागले दैनिक दुई पटक मौसम पूर्वानुमान अद्यावधिक गर्दै आएको जनाएको छ।
















