चीनमा नेपाली तेक्वान्दो टोलीको शानदार प्रदर्शन, सात स्वर्ण
वि.सं.२०८३ असोज १४ बुधवार १५:३८
shares

काठमाडौँ, असोज १४ गते । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले सात स्वर्णसहित विभिन्न पदक जितेका छन्।
हाइनान प्रान्तको वानिङ सहरमा सेप्टेम्बर २५ देखि २७ सम्म भएको प्रतियोगितामा १८ सदस्यीय नेपाली टोलीले क्योरुगी र पुम्से विधामा प्रतिस्पर्धा गरेको थियो।
प्रबिन श्रेष्ठ, मोहम्मद सामी, केनिश खड्का, सुस्ती बीके, सोया चक्रधर, श्रेयस तिवारी र सुबिन सापकोटाले स्वर्ण जितेका हुन्। श्रेष्ठले खेलाडी तथा प्रशिक्षकको दोहोरो भूमिकामा सहभागी हुँदै व्यक्तिगत पुम्सेमा स्वर्ण जितेका छन्।
त्यस्तै शुभम रायमाझी, प्रिन्स बोगटी र सुजल लो तामाङले रजत तथा निर्भिग्ना घिमिरे, प्रिन्स बोगटी र सृष्टि शेर्पाचनले कांस्य पदक जितेका छन्।
प्रतियोगिता जिङलोङ झोङआओ स्पोर्ट्स स्टेडियममा आयोजना गरिएको थियो। नेपाली टोलीको प्रदर्शनले अन्तर्राष्ट्रिय युवा तेक्वान्दोमा नेपालको उपस्थिति थप बलियो बनाएको आयोजकले जनाएको छ।

















