प्राविधिक पृष्ठभूमिका सांसदलाई प्रधानमन्त्रीको आग्रहः आफ्नो विज्ञता मुलुक विकासमा लगाउनुहोस्
वि.सं.२०८३ असोज १४ बुधवार १६:०१
shares

काठमाडौँ, असोज १४ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा अधिकतम उपयोग गर्न आग्रह गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमिका सांसदसँग छलफल गर्दै उहाँले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र प्राविधिक विषयमा केन्द्रित हुन सुझाव दिनुभयो ।
प्रधानमन्त्री शाहले पार्टी राजनीतिसँगै सांसदहरूले आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । निर्वाचन र राजनीतिक गतिविधिका समयमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका विषयमा केन्द्रित हुन उहाँको आग्रह थियो ।
उहाँले सांसदहरूलाई ‘असाधारण’ व्यक्तिका रूपमा उल्लेख गर्दै नयाँ उपाय र विचारका साथ काम गर्न सके पाँच वर्षमै मुलुकको विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो ।
















