म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन
वि.सं.२०८३ असोज १६ शुक्रवार १२:४२
shares

काठमाडौँ, असोज १६ गते । सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको कपडा खरिदमा देखिएको विवाद अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले झाको संयोजकत्वमा अध्ययन समिति गठन गर्दै दुई महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिएको हो ।
समितिमा सांसदहरु ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।
म्यादी प्रहरीको कपडा खरिदमा अनियमितताको आशङ्का उठेपछि छानबिन समिति बनाउने कि अध्ययन समिति गठन गर्ने भन्ने विषयमा सांसदहरूबीच मतभेद भएको थियो । अन्ततः छानबिनका लागि नभई अध्ययन गर्ने गरी समिति गठन गरिएको हो ।
बैठकमा सांसद खगेन्द्र सुनारले खरिदमा अनियमितताको प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि जनाए । उनले माग गरिएका कागजात प्राप्त भए वा नभएको जानकारीसमेत सदस्यहरूलाई नदिइएको बताए ।
सांसद खुश्बु ओलीले भने सामाजिक सञ्जाल वा बाहिर आएका विषयका आधारमा तत्काल छानबिन अघि बढाउनुभन्दा सम्बन्धित निकायबाट प्राप्त कागजात र प्रतिवेदन अध्ययन गर्नुपर्ने बताइन् । एमाले सांसद ऐन महरले पनि उठेका प्रश्नको निरूपण आवश्यक रहेको भन्दै तत्काल छानबिनभन्दा अध्ययन तथा अन्वेषणबाट अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
















