कांग्रेस महाधिवेशन : २० गते उम्मेदवारी दर्ता, २२ गते मतदान
वि.सं.२०८३ असोज १९ सोमवार १०:१०
shares

काठमाडौँ, असोज १९ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन असोज २२ गते हुने भएको छ। निर्वाचन समितिले सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने असोज २१ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो।
कांग्रेसको निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गर्नेछन्।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।















