दसैँका लागि शुक्रबारदेखि अग्रिम टिकट खुल्ने, रुट परमिट पनि खुला
वि.सं.२०८३ असोज २१ बुधवार ०९:३४
shares

काठमाडौँ, असोज २१ गते । दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो ।
असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर रुट परमिट खुला गरिने भएको छ । यही अवधिमा नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने चल्न पाउनेछन् ।
विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाका अनुसार बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा यस वर्ष अग्रिम टिकट बुकिङ ढिला भएको हो । भत्किएका सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
चाडपर्वमा बढी भाडा लिने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्नेलाई कारबाही गरिने विभागले जनाएको छ । यात्रुलाई आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ । बसपार्क, चाबहिल, बल्खु र कोटेश्वरलगायत स्थानबाट टिकट काट्न सकिनेछ ।
महासङ्घका अनुसार यस वर्ष करिब १५ लाख यात्रु दसैँ मनाउन उपत्यकाबाट बाहिरिने अनुमान छ । यात्रुको सुरक्षाका लागि लामो दूरीका सवारीमा दुई चालक अनिवार्य गरिएको छ भने यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, १४ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिनेछ । राजमार्ग अवरोध र दुर्घटनाको तत्काल जानकारीका लागि केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने तथा यात्रुवाहक सवारीमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य गरिएको छ ।
















