बूढीगण्डकी बाढीले ६ पुल र ३५ घर बगायो, कम्तीमा १० जना सम्पर्कविहीन
वि.सं.२०८३ असोज २५ आइतवार ११:३५
shares

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे गरी ६ वटा पुल तथा चुमनुब्री गाउँपालिकाका करिब ३५ घर बगाएको छ । बाढीमा कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट–धादिङको त्रिपुरासुन्दरी जोड्ने र आरुघाटको सोती–मान्बु जोड्ने पक्की पुल बगाएको छ । धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको उनले बताए ।
त्यसैगरी, माछिखोला–केरौँजा जोड्ने, चुमनुब्रीको ठाडोभिर–जगत जोड्ने तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ को पैयुँ र बगरका करिब ३५ घर बगाएको छ । यसका साथै जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको छ । बाढीबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ ।


















