जाइकाद्वारा पनि बीपी राजमार्ग पुनर्निर्माण सुरु, २ अर्ब ६० करोड खर्च हुने
वि.सं.२०८३ कात्तिक २१ शनिवार १८:४८
shares

काठमाण्डौ – बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पनि सुरु गरेको छ ।
जाइकाले सिन्धुलीको बर्खे खोलादेखि पिप्लेसम्मको सडक खण्ड २ अर्ब ६० करोड रुपैयाँको लागतमा पुनर्निर्माण गर्न थालेको हो । यसअघि अन्य खण्डमा नेपाल सरकारले पुनर्निर्माणको काम अघि बढाइरहेको थियो ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त राजमार्गलाई डेडिकेटेड डबल लेनका रूपमा निर्माण भइरहेको छ । पिप्लेदेखि भकुण्डेबेँसीसम्मको खण्डमा ५२ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त खण्डका तीनवटा ठेक्काअन्तर्गत २०८४ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
आउँदो वर्षायामअघि नै निर्माणाधीन सडकमा एक तह कालोपत्रे सक्ने गरी काम भइरहेको डिभिजन प्रमुख सुमन योगेशले बताउनुभयो ।
२०८१ साल असोजमा आएको बाढीले काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्गको २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति गरेको थियो । पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ ।

















