भीमफेदी दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १४:०४
shares

काठमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई दुर्घटनाको कारण पत्ता लगाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवन र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले घाइतेको उपचारमा कमी हुन नदिन अस्पताललाई निर्देशन दिएको छ । साथै मृतकका परिवारलाई क्षतिपूर्ति र बीमा रकम छिटो उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
















