सन् २०२७ मा नेपालमा जलवायुजन्य जोखिम बढ्ने चेतावनी
वि.सं.२०८३ कात्तिक २८ शनिवार १५:४६
shares

काठमाण्डौ – जलवायु परिवर्तन र प्रशान्त महासागरमा विकसित शक्तिशाली ‘एल निनो’को प्रभावले सन् २०२७ मा नेपालको कृषि, हिमाली जलचक्र र विपद् व्यवस्थापनमा चुनौती थपिन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
आउँदो वर्षको मनसुनबारे अहिले नै निश्चित अनुमान गर्न नसकिए पनि कम वर्षा र छोटो समयमा हुने अत्यधिक वर्षाले कृषि उत्पादन, बस्ती, सिँचाइ तथा जलविद्युत् आयोजनामा असर पार्न सक्ने खाद्य सुरक्षा सूचना सञ्जालले जनाएको छ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिउँ र वर्षाको अनुपात बिग्रिने, नदीको बहाव असन्तुलित हुने तथा लामो खडेरीले वन डढेलोको जोखिम बढाउने सम्भावना छ।
विज्ञहरूले सम्भावित जोखिम न्यूनीकरणका लागि अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सिँचाइ तथा कृषि योजना सुदृढ बनाउन, जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गरी एकीकृत विपद् प्रतिकार्य योजना लागू गर्न सुझाव दिएका छन्।
















