NIMB Long Banner Ad

जनकपुरबाट अमरेश सिंहको मेची–महाकाली पदयात्रा सुरु

897
shares

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सोमबार जनकपुरधामबाट मेची–महाकाली पदयात्रा सुरु गर्नुभएको छ ।

रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरबाट पदयात्राको शुभारम्भ गर्नुभयो । जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा समाजमा एकता कायम गर्ने उद्देश्यले यात्रा सुरु गरिएको सिंहले बताउनुभयो ।

उहाँका अनुसार यात्राका क्रममा दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा नागरिकका कुरा सुन्ने योजना छ । रोजगारी, जनजीविका र स्थानीय समस्यालाई प्राथमिकता दिँदै मजदुर, किसान, महिला, युवा तथा विभिन्न समुदायका नागरिकसँग छलफल गरिनेछ ।

मेची नदीको किनारबाट सुरु हुने यात्रा मकर सङ्क्रान्तिका दिन महाकाली नदीको किनारमा पुगेर सम्पन्न हुनेछ । यात्राका क्रममा सङ्कलित समस्या र सुझाव समेटिएको प्रतिवेदन रास्वपा सभापति, प्रधानमन्त्रीलाई बुझाइने र संसद्मा समेत जनताका आवाज उठाइने सिंहले बताउनुभयो ।