साउदीमा अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा
वि.सं.२०८३ मंसिर १ मंगलवार १०:०४
shares

काठमाण्डौ – साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण, न्यून पारिश्रमिक र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।
एम्नेष्टीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत पाउन सकेका छैनन् ।
रियादस्थित अमेजनको गोदाममा काम गरेका तथा गरिरहेका नेपाल र भारतका २४ जना श्रमिकसँग गरिएको अन्तर्वार्ताका आधारमा प्रतिवेदन तयार पारिएको हो ।
प्रतिवेदनमा कामबाट हटाइएपछि महिनौँसम्म पारिश्रमिक नपाउने, अर्को रोजगारी खोज्न र स्वदेश फर्कन कठिनाइ हुने गरेको उल्लेख छ । केही सुधारका कदम चालिए पनि श्रमिकको रोजगारी सुरक्षा र पारिश्रमिकसम्बन्धी समस्या कायमै रहेको एम्नेष्टीले जनाएको छ ।
















