बर्खास्त एआईजी दाहालले दिए सरकारको निर्णयविरुद्ध पुनरावेदन
वि.सं.२०८३ मंसिर ३ बिहीवार १६:२८
shares

काठमाण्डौ – बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिनुभएको छ ।
दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराउनुभएको हो । कानुनी प्रक्रियाअनुसार उहाँले सुरुमा मन्त्रिपरिषद्मा पुनरावेदन दिनुभएको हो । मन्त्रिपरिषद्ले पुरानै निर्णय सदर गरेमा मात्रै उहाँलाई अदालत जाने बाटो खुल्नेछ ।
संवेदनशील तथा गम्भीर सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा सरकारले गएको असोज २३ गते दाहाललाई बर्खास्त गरेको थियो ।
बिचौलिया भनिएका इनम सापकोटाको मोबाइलमा दाहालसँग सम्पर्क देखिएपछि सरकारले असोज १९ गते उहाँलाई निलम्बन गरी एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
यसअघि असोज ११ गते पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि हिरासतमा पुगेर भेटेको विषयमा पनि दाहाल विवादमा तानिनुभएको थियो ।
















