NIMB Long Banner Ad

साउदी अरबमा आक्रमणमा नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

621
shares

काठमाडौँ – साउदी अरबमा हालै भएका आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ । आक्रमणमा घाइते भएका अन्य तीन नेपालीको अवस्थाप्रति पनि सरकारले चिन्ता जनाएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा घाइतेमध्ये एक जना निको भइसकेको र दुई जनाको उपचार भइरहेको जनाएको छ । सरकारले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सरकारले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई युद्धको निशाना नबनाउन र विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

मंगलबार साउदी अरबको रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका थिए । तीमध्ये एक नेपालीको मृत्यु भएको जनाइएको छ । मृतकको थप विवरण आउन बाँकी छ ।

यसअघि गत महिना पनि यस्तै आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको थियो ।