हामीलाई विपद् आइलाग्यो, जलवायु परिवर्तनका कारण भोटेकोसीमा बाढी आएको कुरा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छौं : प्रधानमन्त्री शाह
वि.सं.२०८३ भदौ १७ बुधवार ०८:२९
shares

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीलाई प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गरेका छन्। बाढीबाट नेपालले ठूलो र अपूरणीय क्षति व्यहोरेको भन्दै उनले पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम निरन्तर भइरहेको जानकारी दिए। विपद्पछिको अवस्थालाई व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय भइरहेको उनले बताए।
उद्धारमा ढिलाइ भएको विषयमा पनि प्रधानमन्त्री शाहले संसद्लाई जानकारी दिए। उनका अनुसार सुरुङको एउटा टनेलमा भौगोलिक अवस्था र अन्य प्राविधिक कारणले एकैपटक एक वा दुईभन्दा बढी स्काभेटर सञ्चालन गर्न सकिने अवस्था छैन।
उनले उद्धारमा खटिएका सबै पक्षले जोखिम मोलेर काम गरिरहेको भन्दै उनीहरूको प्रयासलाई प्रोत्साहन गर्न आग्रह गरे।
विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारले संघसंस्था, सरोकारवाला निकाय, समाजसेवी तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगका लागि आह्वान गरेको उनले बताए।
प्रधानमन्त्री शाहले तत्काल गर्न सकिने काम सरकारले गरिरहेको र बाँकी कामका लागि पनि सरकार गम्भीर रूपमा अघि बढिरहेको दाबी गरे।
















