बाढी प्रभावितका लागि औषधि आयातकर्ता सङ्घले दियो ३ करोडभन्दा बढीको औषधि
वि.सं.२०८३ भदौ १७ बुधवार ०७:१०
shares

काठमाडौँ । भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकको उपचारका लागि नेपाल औषधि आयातकर्ता सङ्घले ३ करोड रुपैयाँभन्दा बढी मूल्यका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
सङ्घले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई राहत तथा उद्धारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
मन्त्रालयको सूचीअनुसार हस्तान्तरण गरिएका सामग्रीमा कोलेरा, टिटानस र एन्टीरेबिज भ्याक्सिन तथा प्यारासिटामोल इन्जेक्सन लगायतका अत्यावश्यक औषधि छन्।
बाढीका कारण घाइते तथा प्रभावित नागरिकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको सङ्घले जनाएको छ।
मन्त्रालयको समन्वयमा ती औषधि तथा स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रका स्थानीय स्वास्थ्य संस्थामार्फत वितरण गरिने अपेक्षा गरिएको छ।
सङ्घका अध्यक्ष पवनकुमार आचार्य र महासचिव मधु पौडेलले आगामी दिनमा पनि आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सामग्रीको सहज आपूर्ति र निरन्तर सहकार्यका लागि सङ्घ प्रतिबद्ध रहेको जनाएका छन्।


















