NIMB Long Banner Ad

भोटेकोशी बाढीः नेपालले माग्यो ‘लस एन्ड ड्यामेज फन्ड’सँग तत्काल सहयोग

130
shares

काठमाडौँ । नेपाल सरकारले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति सम्बोधनका लागि ‘लस एन्ड ड्यामेज फन्ड’ सँग तत्काल सहयोग मागेको छ।

अर्थ मन्त्रालयले ३१ अगस्टमा फन्डको बोर्डका सहअध्यक्षलाई पत्र पठाउँदै बाढीबाट भएको ठूलो जनधन, पूर्वाधार तथा आर्थिक क्षतिका कारण तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको हो।

पत्रमा भोटेकोशी नदी बेसिनमा आएको बाढीले घर, महत्वपूर्ण पूर्वाधार, सार्वजनिक सेवा, जीविकोपार्जन, बजार तथा यातायात सम्पर्कमा व्यापक क्षति पुर्‍याएको उल्लेख छ।

नेपालले आफू जलवायु जोखिममा रहेको हिमाली मुलुक भए पनि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति व्यहोर्नुपरेको जनाएको छ।

सरकारले खोज, उद्धार, राहत तथा क्षतिको प्रारम्भिक मूल्याङ्कन जारी रहेको भन्दै तत्काल मानवीय सहायता, पुनःस्थापना र आवश्यक सेवाको पुनःसञ्चालनका लागि फन्डबाट सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

पत्रमा अर्थमन्त्री स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन्।