१.५ डिग्रीको लक्ष्य पार हुने जोखिम, तापक्रम फेरि घटाउन राष्ट्रसङ्घको आग्रह
वि.सं.२०८३ भदौ १७ बुधवार ०९:३२
shares

पेरिस। विश्व तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घले तापक्रम वृद्धिलाई सीमित गर्दै पछि पुनः १.५ डिग्रीमा फर्काउने रणनीति बनाउन विश्व समुदायलाई आग्रह गरेको छ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनईपी)ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा तापक्रमको सम्भावित ‘ओभरसुट’लाई छोटो र सीमित राख्दै त्यसपछि तापक्रम घटाउने मार्ग तय गर्नुपर्नेमा जोड दिइएको छ।
सन् २०१५ को पेरिस सम्झौतामार्फत करिब २०० मुलुकले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए। तर बढ्दो तापक्रमका कारण अब जलवायु नीतिले १.५ डिग्री पार हुनसक्ने अवस्थालाई समेत समेट्नुपर्ने युएनईपीको निष्कर्ष छ।
वैज्ञानिकहरूका अनुसार १.५ डिग्रीभन्दा माथिको तापक्रमले चरम मौसम, हिमक्षेत्र पग्लिने तथा कोरल चट्टानमा क्षति पुग्ने जोखिम बढाउँछ। सन् १८५०–१९०० को औसतको तुलनामा विश्व तापक्रम वृद्धि करिब १.४ डिग्री सेल्सियस पुगिसकेको छ।
युएनईपीले उत्सर्जनमा तीव्र कटौतीसँगै वायुमण्डलबाट कार्बन डाइअक्साइड हटाएर भण्डारण गर्ने प्रविधिको प्रयोग आवश्यक हुने जनाएको छ। तर जलवायु अभियानकर्ताले प्रविधिमा मात्र निर्भर नभई तत्काल कोइला, तेल र ग्यासको प्रयोग घटाउनुपर्नेमा जोड दिएका छन्।
युएनईपीकी कार्यकारी निर्देशक इन्गर एन्डरसनले १.५ डिग्रीको लक्ष्य अझै कायम रहेको बताउँदै सीमा पार भए पनि तापक्रम पुनः घटाउने प्रयास जारी राख्नुपर्ने बताएकी छन्।


















