बाढी प्रभावित र उद्धारकर्मीलाई मानसिक स्वास्थ्यमा असर पर्न नदिन मनोपरामर्शदाता परिचालन
वि.सं.२०८३ भदौ २० शनिवार १०:१६
shares

काठमाडौँ। भोटेकोशी नदीमा आएको हिमबाढीबाट ठूलो मानवीय क्षति भएपछि प्रभावित परिवार र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श दिन थालिएको छ।
आफन्त गुमाएका परिवार, विपत्को प्रत्यक्ष सामना गरेका नागरिक तथा मृत्यु र विनाशका दृश्यसँग निरन्तर सामना गरिरहेका उद्धारकर्मीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भन्दै सरकारले मनोसामाजिक सहयोगलाई प्राथमिकता दिएको छ।
मानसिक अस्पताल तथा स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र मनोपरामर्शदाताको टोली परिचालन गरेको छ। होल्डिङ सेन्टरमा समेत स्वास्थ्य परीक्षणसँगै आवश्यकताअनुसार मनोसामाजिक परामर्श प्रदान भइरहेको छ।
नेपाल प्रहरी अस्पतालबाट पनि उद्धारमा खटिएका सुरक्षाकर्मीका लागि मनोपरामर्शदाता परिचालन गरिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो। सुरक्षाकर्मीलाई आवश्यकताअनुसार रोटेसनमा परिचालन गरिएको छ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागसँगको सहकार्यमा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा १२ जना मनोपरामर्शदाता स्वयंसेवक परिचालन गरेको छ।
स्वयंसेवकले प्रभावितका घर, विद्यालय, समुदाय र होल्डिङ सेन्टरमा पुगेर परामर्श तथा मनोसामाजिक सहयोग दिने र थप विशेषज्ञ सेवा आवश्यक परेकालाई सम्बन्धित निकायसँग जोड्ने जनाइएको छ।
















